“जबराका पक्षमा आएका को हुन् ?बाइक र्याली संगै आएका युबा र बार, बीच, वार, को संभावना”
2021, November 15th, Monday

हाम्रो खबर संबाद दाता

“कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रवेश रोक्न आइतबार सर्वोच्च अदालतको मूलगेटमा धर्ना दिइरहेका थिए । त्यस क्रममा बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले धारणा राखे । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले बोलिरहँदा भने अवस्था तनावग्रस्त बन्यो । सडकमा एक्कासि धेरै मोटरसाइकलले हर्न बजाएको र एक्सेलेटर दबाएको आवाज आयो । त्यसले धर्ना बिथोलियो ।”

“९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहितका कानुन व्यवसायीहरू जुर्मुराएर नाराबाजी गर्न तम्सिए । वरिष्ठ अधिवक्ता भण्डारीले भने बाहिर सडकमा देखिएको दृश्यतर्फ इंगित गर्दै ‘यो चोलेन्द्र प्रवृत्ति हो’ भनेर टिप्पणी गरे ।”

“दुई दर्जनभन्दा बढी मोटरसाइकलमा आएका युवाले सडकका दुवै लेन कब्जा गरेका थिए । उनीहरूमध्ये एक जनाले राष्ट्रिय झन्डा पनि बोकेका थिए । ती युवाको अग्रपंक्तिमा ‘हन्ड्रेड्स ग्रुप’ का अध्यक्ष बब्लु गुप्ता थिए । उनी कहिले आफैं नारा भट्याउँथे भने कहिले अरूले भट्याएका नारा पछ्याउँथे । नारा लेखिएका पम्प्लेट केहीले बोकेका थिए । उनीहरूले प्रधानन्यायाधीश जबराले राजीनामा दिन नहुने बरु अन्य न्यायाधीश र वरिष्ठ अधिवक्ताहरू दोषी रहेको भन्दै प्रतिक्रिया दिइरहेका थिए ।”

“करिब १५ मिनेटको नाराबाजीपछि प्रहरीले उनीहरूलाई तितरबितर पार्नुका साथै केहीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएकामध्येका एक युवकले न्यायालय खुला गराउनका लागि आफूहरूले नाराबाजी गरेको बताए । ‘हामी कुनै विदेशी दलाल होइनौं । हामी नेपाली जनताका लागि सदैव सडक संघर्ष गरेर ज्यान दिन र मर्न पनि तयार छौं,’ प्रहरीको भ्यानभित्रबाट उनी भन्दै थिए, ‘अहिले जनताले भन्दा पनि राजाले न्याय पाउनुपर्छ ।’”

“गुप्ता संस्थापक रहेको ‘हन्ड्रेड्स ग्रुप’ कोरोना महामारीका बेला गरिएको लकडाउनमा मजदुरहरूलाई खाना वितरण गरेर चर्चामा आएको थियो । गुप्ताले कपडा नभएकाका लागि अनामनगरलगायत विभिन्न ठाउँमा ‘कपडा बैंक’ पनि खोलेका थिए । पछिल्लो समय यो समूह एमसीसी सम्झौताविरुद्ध लागेको गुप्ताको फेसबुक पेजबाट देखिन्छ । गुप्ताले दुई दिनअघिदेखि मात्रै सर्वोच्चमा जारी विवादबारे फेसबुकमा स्टाटस पोस्ट गरेका छन् । त्यसयताका अधिकांश पोस्ट प्रधानन्यायाधीश जबराको पक्षमा र १९ न्यायाधीश तथा बारको विपक्षमा देखिन्छन् । यसबारे थप बुझ्न खोज्दा गुप्ताले फोन रिसिभ गरेर पनि बोलेनन् । त्यसपछि उनले आफ्ना दुवै फोन नम्बर सम्पर्क हुन नसक्ने बनाए ।”

“गुप्तासँगै लागेर सर्वोच्च पुगेका ९ र तारा बराललगायत अर्को समूहका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । पक्राउ परेकामा गोरखाका नूरप्रसाद अधिकारी पनि थिए । ‘सत्य र न्याय अभियान’ को संयोजकका रूपमा आफूलाई चिनाउने नूरप्रसादकी आमा गंगामाया लामो समयदेखि पटकपटक आमरण अनशन गर्दै आएकी छन् । कान्छो छोरा कृष्णलाई माओवादीले हत्या गरेको र उनीहरूलाई कारबाही गर्नुपर्ने माग गंगामायाको छ ।”

“प्रहरीले अधिवक्ताहरू स्वागत नेपाल, तोयनाथ ढुंगाना, कृष्ण प्रसाईं र नवीन मैनालीलाई नियन्त्रणमा लिएको थियो । बारको प्रांगणबाट नियन्त्रणमा लिइएका उनीहरूलाई प्रहरीले केही बेरमै छाडेको थियो । यो समूह बारले कालोपट्टी बाँधेर प्रधानन्यायाधीश जबराको विरोध थालेदेखि नै जबराको पक्षमा छ । उनीहरूले पछिल्लो समय १९ न्यायाधीश र बारको खुलेर आलोचना गरिरहेका छन् । उनीहरूले माइतीघरमा कोणसभा पनि गर्दै आएका छन् । उनीहरूले शुक्रबार रित्तो इजलासमा बहस गरेका थिए । नेपाल बार महासचिव लीलामणि पौडेलले भने बिचौलियाबाट उठाएको पैसा र भ्रटाचारीको पैसा खाएर आन्दोलन बिथोल्ने काम गरिएको प्रतिक्रिया दिए । युवा परिचालनमा प्रधानन्यायाधीशको संलग्नता रहेको उनको भनाइ थियो ।”

तपाईको प्रतिक्रिया