“भारतीय, एसएसबी, हतियार,सहित नेपाल प्रवेश , सरकार चुपचाप !
2021, November 9th, Tuesday

हाम्रोखबर संवाददाता

“भारतीय अर्धसैनिक बल एसएसबी हतियारसहित सुस्ता क्षेत्रमा प्रवेश गरेर अतिक्रमणको प्रयास गरेको छ ।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ मा रहेको नारायणी नदी पारीको गाउँ सुस्ता पटकपटक भारतीय पक्षको अतिक्रमणमा पर्दै आएको क्षेत्र हो ।”

“पछिल्लो पटक आइतबार र सोमबार भारतीय एसएसबीहरु हतियारसहित पुगेर सुस्ता क्षेत्रको नापजाँच नै गरेपछि बाँकी रहेको जमिनसमेत फेरि भारतले खोसेर लग्ने हो की भन्नेमा सुस्तावासीको चिन्ता बढेको छ।”

“अतिक्रमणको प्रयासस्वरुप उनीहरुले हरेक वर्ष नापजाँच गर्दै आएको स्थानीय रविन्द्र जयसवालले बताए । अहिले २ दिन फिता लगाएर नापजाँच गरेको एसएसबीले ६ महिनाअघि पनि सुस्ता क्षेत्रमा ड्रोन चलाएको थियो। यसपटक भने ड्रोन नभइ सुस्ताको पश्चिमतर्फ फिताले नापजाँच गरेर गएको उनले बताए ।”

“सुस्ता क्षेत्रमा २०६२ जेठ १७ देखि भारतीयले अतिक्रमण कार्य बढाउँदै गएका हुन् । अतिक्रमण बढेपछि २०६४ सालमा दुवै देशका जिल्लास्थित सुरक्षाअधिकारीको सहमति अनुसार १९ हजार ४ सय ८० हेक्टर जमिन कुनै पनि पक्षले जोतभोग र उपयोग नगर्ने सहमति गरिएको थियो ।”

“उक्त जमिनको सुस्तावासीसँग लालपुर्जा छ । तर भारतीय पक्षको दबाबका कारण त्यसबेलाको जिल्लास्थित सुरक्षाअधिकारीहरुले जोतभोग नगर्ने सहमति गरेको हो । त्यही जमिनमा अहिले एसएसबीले नापजाँच गरेको हो।”

“भारतले विवाद निकालेको उक्त जमिनको १ सय १३ जनासँग लालपुर्जा रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए। ‘मालपोत भएको जग्गामा विवाद निकाल्दा समेत सरकार मौन छ,उनले भने ।”

“एसएसबीले नापजाँच सुरु गरेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहितको जिल्ला सुरक्षा समितिका अधिकारीहरु सोमबार सुस्ता क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेको छ ।”

“सीमा सुरक्षाका लागि सुस्तामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको पोष्ट छ । हतियारसहित आएका एसएसबीले गरेको नापजाँचका बारेमा माथिल्लो निकायमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाइ छ ।”

“हतियारसहित नापजाँचका लागि एसएसबी आएको स्थानीयबाट खबर पायौं । हाम्रो प्रहरीको टोली नपुग्दै उनीहरु गइसकेका रहेछन्, प्रजिअ मिश्रले भने । विना अनुमति सुस्ता क्षेत्रमा एसएसबी प्रवेश गरेको बारे गृहसचिव र शान्ति सुरक्षा महाशाखा प्रमुखलाई जानकारी गराएको उनले बताए ।”

“मैले यसबारे भारत बिहार प्रदेश पश्चिम चम्पारन जिल्लाका प्रमुख डिएम कुन्दन कुमारलाई पनि जानकारी गराएको छु । उहाँले यो गलत काम भएको र त्यसबारे मातहतलाई निर्देशन दिने बताउनु भएको छ, प्रजिअ मिश्रले भने ।”

“कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये १४ हजार हेक्टर जमिन भारतीयले अतिक्रमण गरिसकेको छ । ७ हजार ५ सय हेक्टर मात्र भोग चलन गर्दै आएका छन् । भारतले विवाद निकालेको १९ हजार ४ सय ८० हेक्टर जमिनमा भारतीय पक्षले पटक पटक गिद्दे नजर लगाउँदै आएको छ ।”

तपाईको प्रतिक्रिया