राष्ट्रिय आबिस्कार केन्द्रलाइ एका एक सहयोगको ओइरो!डा. महाबिर पुन नै चकित,हेर्नुहोस
2020, October 31st, Saturday

admin

काठमाडौं । नेपालमा गत चैत १० गते दोस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै देशव्यापी बन्दाबन्दीको घोषणा भयो । तर, सरकारको पूर्वतयारी निकै कमजोर थियो । यो अवस्थाले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई चैनसँग बस्न दिएन ।

पुनको नेतृत्वमा रहेको केन्द्रले देशमा कोरोना संक्रमितहरुको उपचारमा अत्यावश्यक मेडिकल सामग्रीको अभाव सिर्जना हुने सम्भावना ठम्याएर त्यसलाई कम गर्ने तयारी थाल्यो ।

‘एक त बायोमेडिकल इन्जिनियरिङमा काम नगरेकाले हामीसँग दक्ष जनशक्ति थिएन, त्यसमाथि खोजेजस्तो सामान बजारमा पाइँदैनथ्यो’, पुन भन्छन्, ‘खोज्दै जाँदा ४०० वटा पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) का लागि सामान जुट्यो, अनि काम थाल्यौं ।’

सरकारले सुरुमा एक साताका लागि बन्दाबन्दी गरेको थियो । त्यसपछि बल्ल सरकार स्वास्थ्य सामग्री खरिदबारे छलफलमा जुट्यो । तर, उच्चपदस्थ अधिकारी ‘नेपालमा कोरोना संक्रमितको संख्या १०० कट्दैनन् र धेरै पीपीई आवश्यक पर्दैन’ भनिरहेका थिए ।

तर, केन्द्रले रात दिन काम गरेर ४०० वटा पीपीई तयार पारी अत्यावश्यक ठाउँमा पठायो । त्यहीबीचमा एउटा समूहले गुणस्तरको कुरा उठाएर आविष्कार केन्द्रले बनाएको पीपीईलाई विवादमा ल्याउन खोज्यो । तर, महावीर भने चुपचाप आफ्नो काममा लागिरहे ।

वैशाखको अन्तिमतिर भारतबाट घर फर्किएका धेरैमा कोरोना देखिन थालिसकेको थियो । आसन्न संकटलाई लिएर नेपालमा आईसीयू र भेन्टिलेटरको संख्याबारे बहस सुरु भयो । त्यसपछि बल्ल सरकारले देशभर ९०५ वटाभन्दा धेरै आईसीयू बेड र ५३० वटाभन्दा धेरै भेन्टिलेटर रहेको सूचना सार्वजनिक गर्‍यो ।

त्यो सबैलाई झस्काउने संख्या थियो । देशमा आईसीयू र भेन्टिलेटर एकदमै कम रहेको समाचारले ढुक्कसँग निदाउन नसक्ने बनाएको पुन बताउँछन् । त्यसैबीच राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरूले आविष्कार केन्द्रमा पुनलाई भेटेरै बिग्रिएका १४ वटा भेन्टिलेटर बनाइदिन भने । ‘बायोमेडिकल इन्जिनियरिङमा काम नगरेका हाम्रा लागि ठुलो अवसर र चुनौती आयो’, पुन भन्छन्, ‘दोधारमा पर्दै भए पनि मैले ‘हुन्छ’ भनेर उहाँहरुलाई पठाएँ ।

अब आविष्कार केन्द्रलाई बायोमेडिकल इन्जिनियरको खाँचो पर्‍यो, त्यो पनि विना पारिश्रमिक काम गर्ने । पुनले ‘इच्छुक कोही भए सम्पर्क गर्नुहोला’ भनेर सोही दिन फेसबुकमा लेखे । भएको जनशक्तिबाट काम गर्दै, सिक्दै जाने हिसाबले मर्मतको काम पनि भोलिपल्टबाटै थाले ।

चिकित्सकहरुलाई नै यो के भएको, कुन भागले काम गर्दैन, काम गर्दा कसरी गर्थ्यो ? भनेर सोध्दै मर्मतको काम सुरु भयो । पुन भन्छन्, ‘गर्दै, भन्दै जाँदा शिक्षण अस्पताल, गंगालाल मुटु अस्पताल, वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी अस्पतालका डाक्टर पनि सल्लाह-सुझाव लिन-दिन हामीकहाँ आउन थाले ।’

पुनका अनुसार पहिलो भेन्टिलेटरलाई काम गर्ने बनाउन सात दिन लागेको थियो । तर, त्यो ढिलाइ सामान नपाउँदा भएको थियो । त्यसलगत्तै पुनले फेसबुकमा लेखे- बिग्रिएको भेन्टिलेटर बनाउन परे सम्पर्क राख्नुहोला ।

चितवन, पोखरा, दाङ र काठमाडौंकै विभिन्न अस्पतालबाट फोन आउन थालिहाल्यो । पुन भेन्टिलेटर देखिएका समस्याहरु सोधेर मर्मत गर्न सकिने जस्तो लागे पठाइदिनू भन्थे ।

एउटा सामान्य भेन्टिलेटर किन्न पर्‍यो भने नेपाली बजारमा रु. १५ लाखदेखि २० लाखमा पाउन मुस्किल छ । भएकै भेन्टिलेटरहरु १०-२० हजार रुपैयाँ खर्चमा बन्छ भने किन नयाँ किन्नु भनेर आविष्कार केन्द्रको सिंगो टोली मर्मतमा जुट्यो केही समय ।

विदेशबाट आउनेले आवश्यक सामान ल्याइदिन्थे, स्वयंसेवीहरु मर्मतमा जुट्थे । त्यसैले मर्मत शुल्क पनि नलिने निर्णय गर्‍यो, आविष्कार केन्द्रले । अध्यक्ष पुन भन्छन्, ‘अहिलेसम्म २४ वटा भेन्टिलेटर निःशुल्क मर्मत गरेर पठाइसकेका छौं ।’

भेन्टिलेटर मर्मत अभियानमा विदेशबाट आउने नेपालीहरूले ठूलो गुन लगाएको उनी बताउँछन् । ‘बिभिन्न मुलुकबाट आउने नेपालीले पार्टपूर्जा ल्याइदिएर सहयोग गर्नुभयो,’ पुन भन्छन्, ‘अमेरिकाको नेपाली चिकित्सक संघले पनि धेरै सहयोग गरिरहेको छ ।’

१३ किसिमका सामग्रीको जुगाड

पीपीई बनाउन सुरु गरेसंगै सा-साना सामग्रीको लागि समेत विदेशीको भर पर्नुपर्ने अवस्था थाह पायो, राष्ट्रिय आविष्कार केन्द्रले । बन्दाबन्दीपछि केन्द्रले यस्ता १० किसिमका स्वास्थ्य सामग्री बनाएको र ३ किसिमका सामग्री बन्ने चरणमा रहेको अध्यक्ष पुन बताउँछन् ।

‘कोरोना भाइरस बिरुद्व अग्रपङ्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई सम्झेर सुरुमै पीपीई जुगाडमा लाग्यौं’, उनी भन्छन्, ‘त्यसपछि माग अनुसारका सामग्री उत्पादन गर्ने तयारीम लाग्यौं ।’

आविष्कार केन्द्रले पीपीईपछि माग बमोजिम अक्सिजन हुड, फेससिल्ड, स्वाव संकलन बुथ, एरोसोल बक्स, डिस्इन्फेक्सन बक्स, स्वाब संकलन गर्ने सुईरो, कोरोनाले मृत्यु भएको शव राख्ने बडी ब्याग, संक्रमितलाई एम्बुलेन्समा चाहिने आइसोलेसन बक्स आदि बनायो ।

यसले कोरोनाविरुद्धको लडाइँमा थोरै भए पनि सहयोग पुगेको केन्द्रको भनाइ छ ।

नयाँ भर्सनको भेन्टिलेटर

नेपालमा कोरोना महामारी बढिरहने, तर सरकार लाचार भएर बसिरहने अवस्था देखियो । परिणाम्, अहिले देशभर आईसीयू र भेन्टिलेटरको अभाव छ । यो अवस्थामा भेन्टिलेटर नै नभए पनि भेन्टिलेटरले जस्तै काम गर्ने मेसिनको जोहोमा लागेको छ, आविष्कार केन्द्र ।

यसमा अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयसंग सहयोग मागेको अध्यक्ष पुन बताउँछन् । उनका अनुसार, स्ट्याण्डफोर्डले दिएको बाइपाप र सीपापा भन्ने मेसिनले बिरामीलाई अक्सिजन दिन्छ ।

यी मेसिन भेन्टिलेटर आवश्यकता पर्नुभन्दा पहिलेको अवस्थाका बिरामीलाई काम लाग्छ । अर्थात्, यीनले भेन्टिलेटर चाहिने बिरामीको संख्या या चाप घटाउँछन् । यी मेसिन ल्याउन थालिकिएको पुन बताए ।

उनी भन्छन्, ‘यी मेसिन निशुल्क दिने हुन् । मैले फेसबुकमा लेखेकै छु- आउनुहोस् लिएर जानुहोस्, चलाउनुहोस् तर फिर्ता गर्नुपर्छ । किनकि पछि अरूलाई पनि चाहिन्छ ।’

आविष्कार केन्द्रले बिभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय संघ-संस्थाको सहयोगमा पावर एयर प्युरिफायर रिसेसिटेटर नामको उपकरण पनि बनाउन अध्ययन थालेको छ । यसले भेन्टिलेटरले जस्तै बिरामीको शरीरमा अक्सिजन पठाउँछ । अबको एक महिनामा यो मेसिन बनाउने लक्ष राखेको बताउँदै पुन भन्छन्, ‘यसमा सफल भइयो भने देशमा भेन्टिलेटरको अभाव हटाउन सकिन्छ भन्ने लागेको छ ।’

कीर्तिपुरस्थित आविष्कार केन्द्रमा कहिले आधारातमा पनि नाचगान र हाँसोठट्टा हुन्छ भने कहिले विहानसम्मै निरन्तर काम चलिरहन्छ । त्यहाँ ३०-४० जना स्वयंसेवक छन् । कुनै विधामा विशेषज्ञता हासिल गरेकाहरू पनि बेलाबेला आएर बस्छन् । ‘कोरोना महामारीमा हामीले संकटको बेला कसरी काम गर्न सकिन्छ भन्ने पाठ सिक्यौं’, केन्द्रका अध्यक्ष पुन भन्छन्, ‘सबभन्दा ठूलो कुरा, इच्छाशक्ति भए संकटकै बेला महत्वपूर्ण गर्न सकिने रहेछ ।’

तपाईको प्रतिक्रिया