“महिला प्रधानमन्त्री हुने दिन, टाढा छैन : नवनियुक्त, मन्त्री रेग्मी”
2021, October 9th, Saturday

हाम्रो खबर संबाद दाता

“नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल काँग्रेसकै पूरानो नेता भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट बताएकी छन् ।”

“मन्त्री भएको भोलिपल्ट शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो पार्टीको पूरानो नेता हो । उहाँ भिक्टिमाइज हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीको मान्छे हो । अब हेर्नुहोस्, कसैको नाता पर्यो होला । तर, उहाँ भिक्टिमाइज भएर सम्मान गरेको हो ।”

“मन्त्री रेग्मीले गैरसांसद व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था रहेको बताउँदै गजेन्द्र हमाल मन्त्री बन्दा प्रधानन्यायाधीशको सवाल जोड्न नहुने बताइन् । उनले भनिन् : ‘सर्वदलीय सहमतिबाट भएको कुरा हो । उहाँलाई मन्त्रीमा ल्याउनुपर्दथ्यो । पार्टीमा त्यत्रो योगदान गरेका मान्छेले अवसर पाउनुपर्छ ।”

“कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्नसक्ने र त्यो समय आइरहेको  दाबी गरिन् । उनले भनिन्, ‘प्रधानमन्त्री बन्न महिला योग्य छन् । एक तिहाई महिलाहरुको हरेक ठाउँमा प्रतिनिधित्व भयो भने महिला प्रधानमन्त्री हुनसक्छन् । महिला कार्यकारी प्रमुख भएर पुगे भ्रष्टाचार कम हुन्छ । तर, महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ ।”

“राजनीति फोहोरी खेल भएको बताउँदै उनले प्रधानमन्त्री बन्नका लागि त महिलाहरु पनि यो रेसमा दौडिनुपर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो देशमा महिलाहरु राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो ।”

“प्रधानन्यायाधीश पनि हुनुभयो । अब प्रधानमन्त्री हुन महिला तयार भएर आउँछन् । कसैले धकेलेर हुँदैन् । यो दिन टाढा छैन् ।’ त्यस्तै, उनले पार्टीको आगामी १४ औं महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने पनि विश्वास समेत दिलाइन् ।”

तपाईको प्रतिक्रिया