यस्तो महामारीको बेला सरकारले चाड पर्वको भत्ता दिएर निर्दोस संसदहरुको बेइज्जत गर्यो! काङ्ग्रेस नेता प्रकाशमान सिंह ,
2020, October 20th, Tuesday

admin

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खातामा दशैंभत्ता पठाइदिएर सरकारले सांसदहरुलाई जनताको नजरमा बदनाम गर्ने दुराशय राखेको आरोप लगाएका छन् ।

एकातिर जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको उनले बताएका छन् । उनले यसविरुद्ध कांग्रेस उभिने पनि बताएका छन् ।आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ, सिंहले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ र उभिन्छ ।

नेता सिंहले दशैंभत्ता भन्दै आफ्नो नाममा आएको रकम फिर्ता गर्ने बताएका छन् । नेपाली कांग्रेस पार्टीबाट नै दशैंभत्ता फिर्ताको निर्णय गरेर सरकारको प्रयासलाई विफल बनाउन पनि उनले आग्रह गरेका छन् ।कांग्रेसले संसदमा नै सरकारलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गरेको र त्यसका लागि आफूले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको उललेख गर्दै उनले भनेका छन्, नागरिकहरु समस्यामा रहँदा सरकार आफ्नो जिम्मेवारीबाट भाग्ने र अनुत्तरदायी बन्ने बाटोमा अग्रसर छ ।

कोरोना नियन्त्रणका नाममा सरकार करोडौं रकम अनियमिततामा मुछिएको आरोप लगाउँदै उनले भनेका छन्, महामारीको यस्तो संकटपूर्ण बेलामा सरकार अत्यन्त अमानवीय र असंवेदनशील देखिएकोमा हामी खेद व्यक्त गर्न चाहन्छौं ।

तपाईको प्रतिक्रिया