“टोपबहादुर रायमाझी,ले पनि छोडे एमाले, भने ‘म माओवादीमै छु, एमालेमा छैन’
2021, July 28th, Wednesday

हाम्रो खबर संबाद दाता

“माओवादी केन्द्रबाट कारवाहीमा परेका नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमै रहेको दाबीसहित प्रतिनिधि सभा सदस्य पुनर्वहालीका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।”

“बुधवार सर्वोच्च अदालतमा दायर गरेको रिटमा रायमाझीले आफूले अर्को दल गठन नगरेको तथा एमालेको केन्द्रीय कमिटीको सूचीमा नरहेको दाबी गरेका हुन् ।‘निर्वाचन आयोगको रेकर्डअनुसार म निवेदक माओवादी केन्द्रमा रहेको पुष्टि हुन्छ, म निवेदकले अर्को दल गठन गरेको पनि छैन ।”

“२०७८ असार २३ गते आयोगको रेकर्डअनुसार म माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति सदस्य छु । ‘…नेकपा एमालेको केन्द्रीय कमिटीको लिस्टमा पनि छैन । …दल परिवर्तन गरेकै छैन । झुटो आरोप लगाई गरेको कारवाही बदर गरि पाउँ,’ रायमाझीले रिटमा भनेका छन् ।

“२०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएका रायमाझी लगायत चार जना सांसदलाई माओवादीले कारवाही गरेको थियो ।”

“नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिइएको थियो । माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।”

“सांसद पदबाट कारवाही गर्ने माओवादीको निर्णयविरुद्ध रायमाझीसहित लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटमाथि सुनुवाइका लागि बिहीवार पेशी तोकिएको छ ।”

“त्यसैगरी रायमाझीको दाबीमा माओवादी केन्द्रको महाधिवेशन पनि नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै उक्त कारबाही अवैध भएकाले सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् ।”

“स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टी नेकपा टुक्राउने अदालतको निर्णयपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतका नेताहरूले आफूहरू ओली नेतृत्वको नेकपामा गएको घोषणा गरेका थिए । ती नेताहरूले माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अभिव्यक्तिसमेत दिएका थिए ।

तपाईको प्रतिक्रिया