“अझै एक साता नेपालमा,मनसुनले कडा सक्रियता जनाउने,
2021, June 16th, Wednesday

हाम्रो खबर संबाद दाता

असार २।  मनसुनी न्यून चापीय रेखा बङ्गालको खाडीबाट नजिक सर्ने क्रम जारी रहेकाले पनि अझै एक साताभन्दा बढी समय नेपालमा मनसुनले कडा सक्रियता जनाउने सम्भावना रहेको जल तथा विभागले जनाएको छ । विभागका अनुसार पहाडी र हिमाली भेगमा अधिक वर्षा भएकाले ठूला नदीको बहाव निरन्तर बढोत्तरीतर्फ उन्मुख छ ।”

मनसुनको सुरुवात नै पूर्व र मध्यक्षेत्रमा भएकाले सबैभन्दा बढी मध्यक्षेत्रको नारायणी नदीमा अत्यधिक बाढी उर्लिएको छ । नारायणी जलाधार क्षेत्रमा वर्षा अझै निरन्तर छ ।

नदीको बाढीले मङ्गलबार बिहानै सतर्कता तह पार गर्दै साँझ खतराको तहको मापन नौ मिटरमाथिको उकालो पार गरिसकेको छ । नारायणगढ र गैँडाकोटको तटीय क्षेत्र डुबानमा परेको छ । नारायणीको बाढीले उग्र रूप लिएपछि त्रिवेणीको गण्डक बाँधको सबै ढोका खोलिएका छन् ।

सोमबारदेखि सिङ्गो गण्डकी प्रदेशको आकाशमा कालो बादल मडारिँदै पानी परिरहेको छ । पहाडी इलाका रहेकाले पहिरो जाने सम्भावना उच्च रहेकाले सतर्कता अपनाउन भनिएको छ । लुम्बिनी प्रदेशको पश्चिम राप्ती, बबई, तिनाउलगायतका सहायक नदीमा बहाव बढिरहेको छ ।

कर्णाली प्रदेशका भेरी क्षेत्रमा पानी परिरहेको छ । अत्याधिक बर्षाले कास्की, लमजुङ पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, चितवन, त्रिवेणी, परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ लगायतका जिल्ला प्रभावित बनेका छन् ।

तपाईको प्रतिक्रिया