admin 681 Views
पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले खारेज गरिदिएपछि आधिकारिक नेकपा, सूर्य चिह्न कसले पाउने भन्ने लडाईं चलिरहेको थियो ।
फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो ।
नेकपा विभाजन भएपछि केन्द्रीय सदस्य लीलाबहादुर थापा पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमै थिए । पूर्व पार्टी ब्युँतिएपछि थापा एकाएक ओलीलाई साथ दिँदै नेकपा एमालेमा प्रवेश गरे । पूर्वलडाकु र केही खेलाडीसहित माघ १० गते बालुवाटारमै पुगेर प्रधानमन्त्री ओलीबाट थापाले टीका लगाए ।
थापालाई एमाले अध्यक्ष ओलीले गण्डकी प्रदेश सहइन्चार्ज बनाएका छन् । मंगलबार अन्तरपार्टी निर्देशन जारी गर्दै प्रधानमन्त्री ओलीले सहइन्चार्ज खगराज अधिकारीको ठाउँमा थापालाई जिम्मेवारी दिएका हुन् ।
‘पार्टीले जिम्मेवारी हेरफेर गरेको छ । अध्यक्षले जहाँ खटाउनुहुन्छ, त्यहाँ रहने छु,’ खगराजले भने, ‘लीलाबहादुरजीलाई स्वागत छ ।’ गण्डकी प्रदेशको सहइन्चार्जमा पदमाकुमारी अर्याल पनि थपिएकी छन् । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ पनि सहइन्चार्जमै छन् ।
लीलाबहादुर र उनका छोरा प्रदीप सँगै एमालेमा प्रवेश गरेका हुन् । प्रदीप नेकपा बरेङ गाउँ कमिटीका संयोजक थिए । अहिले एमाले गाउँ कमिटीका अध्यक्ष बनेका छन् । बरेङ गाउँपालिकाको अध्यक्षमा माओवादीबाट प्रदीप उम्मेदवार थिए । तर, उनले जित्न सकेनन् ।
राष्ट्रिय जनमोर्चा, एकीकृत हुँदै माओवादी राजनीतिमा सक्रिय थापा बागलुङका चर्चित नेता हुन् । बरेङ गाउँपालिका २ हुग्दिशिरका थापामगर राष्ट्रिय जनमोर्चाबाट २०५४ सालमा जिल्ला विकास समितिको सभापति बनेका थिए । जनमोर्चा फुटेपछि एकीकृत हुँदै शान्ति प्रक्रियापछि माओवादी राजनीतिमा थिए ।
थापा दोस्रो संविधानसभाको निर्वाचनमा बागलुङबाट माओवादीका उम्मेदवार थिए । उनी कांग्रेसका प्रकाश शर्मा पौडेलसँग पराजित भए । माओवादीको पोलिटब्युरो सदस्य रहेका थापा नारायणकाजी श्रेष्ठका प्रिय पात्र मानिन्थे ।
गत साउनमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बन्न रमेशकुमार सिलवालको प्रमुख प्रतिस्पर्धी थिए, थापा । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सिलवाललाई नै सदस्य सचिव बनाउने सार्वजनिक भएपछि फेसबुकमार्फत थापाले रोष प्रकट गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले बेवास्ता गरेको भन्दै उनी रुष्ट थिए । नेपाल भलिबल संघमा दुई पटक केन्द्रीय उपाध्यक्ष रहेका थापा आइटीएफ तेक्वान्दोका संस्थापक सदस्यसमेत हुन् ।
सर्वोच्चले एमाले–माओवादी ब्युँताइदिएपछि केही समय थापा अलमलमा थिए । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीहरु एमालेमै बसेपछि उनले पनि त्यही बाटो पछ्याए ।
रायमाझीकै समन्वयमा थापामगर एमालेमा लागेको उनी निकट स्रोतले बताए । रायमाझी स्थानीय विकास मन्त्री हुँदा थापा उनको राजनीतिक सल्लाहकार थिए । थापा किरात राज्यको इन्चार्ज, मगरात तमुवान राज्यको सहइन्चार्ज पनि भएका थिए ।
‘माओवादीको स्थायी कमिटी सदस्य थिएँ । पछिल्लो समय माओवादीमा पोलिटब्युरो सदस्य थिएँ,’ थापा मगरले भने, ‘प्रचण्डले बाटो बिराएका कारण एमालेमा लागेको हुँ । एमालेको प्रदेश सहइन्चार्जको जिम्मेवारी पाएको छु । अब संगठन बनाउने हो ।’
थापासँग गरेको कुराकानी :
माओवादीको साथ किन छोड्नुभयो ?
हामी वर्ग संघर्षमा लाग्यौं । समाजवाद, साम्यवादको महान सपना बोकेर कम्युनिस्ट आन्दोलनमा लाग्यौं । थुप्रै जेलनेल र यातना खेप्यौं । मुद्धा मामिला जेल्यौं । त्यसैको उपलब्धी हो, अहिलेको व्यवस्था र त्यसमा हामी सबैको योगदान छ । ठूलो त्याग र बलिदानबाट यो उपलब्धी प्राप्त भएको हो ।
जहिले पनि म एकता, राष्ट्रियता र गणतन्त्रको पक्षमा उभिने सिपाही हुँ । अहिले म जुन पक्षमा उभिएको छु, त्यो राष्ट्रियता र जनतन्त्रकै पक्षमा हो । राष्ट्रियताको पक्षमा कसले अगुवाइ गर्यो, नाकाबन्दीमा कसले अगुवाइ गर्यो, चुच्चे नक्सा बनाउन कसले भूमिका खेल्यो भन्ने प्रस्टै छ ।
जनजीविकाका सवालमा पनि भटाभट विकास निर्माणको काम भइरहेको सबले देखिरहेकै छौं । म उभिएको पक्ष भनेको विकासको पक्ष हो । म उभिएको पक्ष, समृद्धिको पक्ष हो । म उभिएको पक्ष स्थिरता र न्यायको पक्ष हो । म जहाँ उभिएको छु, यसबारे म प्रस्ट छु ।
प्रचण्ड हिजो किन ठीक लागेको थियो र कहिले किन बेठीक लाग्यो ? कि अवसर अब एमालेमा छ भनेर हो ?
जुनबेला कमरेड प्रचण्ड ठीक थिए, साथ दिएँ । जुनबेला बेठीक बेठीक बाटो हिँडे, बेठीक बेठीक बन्दै गए अनि मैले साथ छाडेको हुँ । जनजीविका र जनताको पक्षमा जसले काम गर्छ, उसैलाई साथ दिने हो नि । प्रचण्ड ठीक बाटो हिँड्नुभएन ।
मैले त हिजोका थुप्रै सहकर्मी एमालेमा आउने देखेको छ । हामी क्लियरकट छौं । माओवादीको अब भविष्य छैन, एमाले नै जनताको पार्टी हुन्छ । विकास गर्ने पार्टी हुन्छ । एउटा ठेकदारले जे भन्यो त्यही हो भनेर हिजो ताली पड्कायौं । फेरि पूर्व सहकर्मी एकैठाउँ रहने अभियान हामी चाल्छौं ।
हिजो राष्ट्रिय जनमोर्चा हुनुहुन्थ्यो, एकीकृत हुँदै शान्ति प्रक्रियापछि माओवादी हुनुभयो, पुरानै पार्टी ब्युँतिएपछि एमालेतिर लाग्नु भो, तपाईंका पूर्व सहकर्मीले त अवसरवादी भनिरहेका छन् नि ?
यो कुरा तुक नभएको कुरा हो । सबैभन्दा पहिले नेपाल कम्युनिस्ट पार्टीको नाम के थियो ? यसका संस्थापकहरु कोको थिए ? अहिलेसम्म सबै नेपाल कम्युनिस्ट पार्टीमै रहनुपथ्र्यो नि । प्रचण्डले अहिलेसम्म कति वटा पार्टी फेरेर यहाँ आइपुग्नुभएको हो ?
मोहनविक्रमको पार्टी किन छोड्नुभयो ? मोटो स, पातलो स, केके हुँदै माओवादीसम्म किन आउनुपरेको हो ? पार्टीमा कहिले एकीकरण हुन्छ, कहिले धुर्वीकरण हुन्छ । पार्टी एकीकरण अभियान भनेर प्रचण्डजी अगाडि बढ्नुभयो । एकीकरण त भयो तर तीव्र क्षयीकरण पनि भयो । माओवादी क्षयीकरण भएर के भयो ? वैधजीले छोड्नुभयो, बादलजीले छोड्नुभयो, विप्लवले छोड्नुभयो, बाबुरामजीले छोड्नुभयो । माओवादी फुट्दै गयो ।
त्यही पार्टीमा फुटको नेतृत्व प्रचण्डजीले गर्नुभयो । निर्माण गर्नेतिरभन्दा भत्काउनेतिर लाग्नुभयो । अहिले बादलजी, टोपबहादुरजी लगायत हामीले पनि प्रचण्डलाई साथ दिन नसक्ने भयौं । हामीले उहाँलाई छोडेको होइन, उहाँले हामीलाई छोड्नुभएको हो ।
प्रचण्ड र ओली मिलेर पार्टी एकता गरेको होइन ? हामीले ठीक छ भन्यौं ।
ओलीलाई प्रधानमन्त्री पनि प्रचण्डजीले नै मानेको हो, हामीले ठीक छ भन्यौं । ओलीलाई पार्टी अध्यक्ष पनि प्रचण्डले नै मानेको हो । हामी त्यही मुख्य लाइनमै छौं । प्रचण्डले जेजे मान्नुभयो, हामी त्यहीँ छौं । बरु प्रचण्डजी बरालिएर कताकता पुग्नुभयो भन्ने हो । नेकपा विभाजनसँगै पार्टीको वैधानिकता कसले पाउने ? संसदीय दल कसले कब्जा गर्ने ? सत्तामा को जाने ? प्रधानमन्त्री को बन्ने र सूर्य चिह्न कसले पाउने भन्ने लडाईं थियो नि ।
अहिले जुन आधिकारिक बन्यो, हामी त्यहीँ छौं । अब उहाँहरु कता जाने हो भन्ने बडो चिन्ता लागिरहेको छ मलाई ।
सर्वोच्चले पुरानै पार्टी ब्युँताइदिएपछि एमालेभित्रै ठूलो विभाजन छ । यही मौकामा प्रदेश सहइन्चार्ज हुनुभएको छ ? अब कसरी संगठित गर्नुहुन्छ ? अब एमाले र माओवादी कसरी अगाडि बढ्छ ?
हिजोका क्रान्तिकारी हुँ भन्ने साथीहरुको चिन्ता छ मलाई । किनभने कुनै जिम्मुवाल, मुखियाले भने झैं यो हो है भन्दा ताली पड्काउने, ठीक छ भन्ने । ठीक छैनभन्दा ठीक छैन भन्दै चिच्याउँदै हिँड्ने प्रवृत्ति दास प्रवृत्ति हो ।
हिजोका क्रान्तिकारी साथीहरुलाई सोच्न अनुरोध गर्छु । पार्टी, विधि र पद्धति बचाउनेको पक्षमा लाग्नुपर्छ । हिजो एउटा तालुकदारले भनेझैं हजुर भन्दै नहिँडौं । यो गलत प्रवृत्ति हो । होइन भने घुम्दै फिर्दै रुम्जाटार भनेझैं हुन्छ । सिर्जनात्मक भएर अगाडि बढ्ने हो ।
सर्वोच्चले पुरानै पार्टी ब्युँताइदिएपछि केही समय अलमलमै हुनुहुन्थ्यो । पछि के चाहिँ कुरा पाएर ओली नेतृत्वको एमालेमा लाग्नुभयो ?
सही विचार र सत्यको पक्षमा लाग्ने हो । विचारमा अडिग र सत्यको बाटो हिँड्दा आउने जिम्मेवारी स्वीकार्ने हो । अहिले प्रदेश सहइन्चार्जको जिम्मेवारी पाएको छु, भोलि सांसद मन्त्री पनि बन्न सक्छु ।
माओवादीमै हुँदा पनि मभन्दा धेरै कान्छा पनि मन्त्री भएका छन् । म पदका लागि राजनीति गर्ने मान्छे भए पहिल्यै मन्त्री भइसक्थें । विकास, दूरगामी सोच र निष्ठाको राजनीति यहीँबाट हुन्छ भनेर धेरै अध्ययन र सोचविचार गरेर आएको हुँ । भोलि परिआए जे जिम्मेवारी पनि निभाउन सक्छु । अन्लाइन खबर बाट
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)