प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो
2021, January 27th, Wednesday

admin

काठमाडौं : चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२रन मात्रै बनाउन

सक्यो। लुम्बिनीले ६३ रनको विजय लक्ष्य १४ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिनुभयो। यस्तै अनिल खरेल र विक्रम भुसालले दुई–दुई तथा सन्दीप सुनार र दीपेन्द्र रावतले एक–एक विकेट लिए। विजयी लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गर्दै लुम्बिनीका लागि सौरभ खनालले अविजित १८, प्रकाश केसीले १७ तथा कृष्ण कार्कीले १५ रनको योगदान दिए। बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले दुई तथा विनोद लामाले एक विकेट लिए।

समूह ‘बी’ मा रहेको लुम्बिनी तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश नं २ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा लुम्बिनी पुलिस क्लबसँग ७४ रनले पराजित भएको थियो। यस्तै सुदूरपश्चिम हालसम्म खेलेका तीन खेलमै पराजित भइ अङ्कविहीन अवस्थामा छ। सुदूरपश्चिम पहिलो खेलमा वाग्मती प्रदेशसँग १८० रनले तथा दोस्रो खेलमा पुलिस क्लबसँग नौ विकेटले पराजित भएको थियो। सुदूरपश्चिम प्रतियोगिताबाटै बाहिरिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेका छन्। उनीहरु टी–१० लिग क्रिकेट खेल्न बिहीबार साँझ त्यसतर्फ गएका हुन्।

खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहनेछन्। यस्तै मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट प्रतियोगिता खेल्नेछन्। टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई गएका थिए। उनले अरेबियन्स टोलीबाट खेल्नेछन्।

टी–१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाएनन्। खड्काले भने एउटा खेल खेलेका थिए। टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया