म पहिलेनै उपाध्यक्ष पद दिन्थे ,मन दुखाउछन होला भनेर मात्र कार्यकारी अध्यक्ष दिएको हूँ! केपि ओलि
2020, December 22nd, Tuesday

admin

काठमाडौं – नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आफू निकट नेताहरुको भेला सकिएको छ ।

भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् । पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको उनले दावी गरेका छन्।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गरेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चर्को आलोचना गरेका छन् । उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ भन्दै ओलीले थपे , ‘अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने रे !’

प्रधानमन्त्री ओलीले भने आफूले पनि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने आजको भेलामा बताएका छन्। उनले नेकपामा छिरेर प्रचण्डले ओलीलाई कारबाही गर्ने कुरा कसैले नपत्याउने उल्लेख गरे। ‘यो त विश्व राजनीतिमै दुर्लभ घटना हुने भयो,’ ओलीले भने,‘यस्तो कुरा कसैले पत्याउनु पर्‍यो नि!’

अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै उनले उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् । बैठकमा पूर्व माओवादी लेखराज भट्ट पनि सहभागी भएका थिए ।

बैठकमा प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले अहिलेको अवस्थाका बारेमा आफ्नो धारणा राखेको एक निवर्तमान सांसदले जानकारी दिएका छन् । बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै केही सांसदहरुले आफूहरुलाई पार्टी फुट स्वीकार्य नभएको बताएका छन्

तपाईको प्रतिक्रिया