“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्‍योः टोपबहादुर रायमाझी,
2022, March 14th, Monday

हाम्रोखबर संवाददाता

“काठमाडौं, ३० फागुन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले म्युजिक भिडियो बनाउने गायक प्रकाश सपुतलाई धम्की दिनुभन्दा आफ्नो गल्ती स्वीकार गरी धन्यवाद दिनुपर्ने बताएका छन् ।”

“नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “प्रकाश सपुतले तयार पारेको सांगीतिक कथाले एकदमै सही कुरा बोलेको छ । जनयुद्धले ठूलो परिवर्तन र जागरण ल्यायो ।

“तर जनयुद्धका नायक बनेका घाइते, अपांग, सहिद परिवारको व्यवस्थापन नगर्दा माओवादी विसर्जनको स्थितिमा पुगेको छ । हामीले उनीहरुको उचित व्यवस्थापन गर्नुपर्छ भन्दा लोभीपापी झुन्डले बेवास्ता गर्यो । अब एउटा भिडियोको लोभीपापीले विरोध गर्नुको कुनै अर्थ छैन । धम्की दिनेभन्दा पनि धन्यवाद दिनुपर्यो ।”

“आगामी निर्वाचनमा नेकपा एमालेले कुनै गठबन्धन नगर्ने पनि उनले स्पष्ट पारे । रायमाझीले भने, “अरुसँग तालमेल गर्ने कुनै तयारी छैन । एमाले आफ्नो एजेन्डा बोकेर अघि बढ्छ । एमाले जनताको बीचमा एक्लै जान्छ । र, लोभीपापीको झुन्ड धराशायी हुन्छ । त्यसैले एमालेको लहर देखेर उनीहरु तर्सिएका छन् ।”

“प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग गठबन्धनको गम्भीर भूल र बदमासी भएको उनले बताए । उनले भने, “जुन प्रधानन्यायाधीशमार्फत परमादेश जारी गरी सरकार बनायो, उसैलाई महाभियोग लगाउनु गठबन्धनको भूल र बदमासी हो । यसमा एमालेले साथ दिँदैन ।”

तपाईको प्रतिक्रिया