मलाइ ओलि सरकारले सुनियोजित ढङ्गले पक्राउ गर्यो,यसमा देशैभरी बाट प्रतिवाद हुनेछ! रामचन्द्र पौडेल
2020, December 2nd, Wednesday

admin

पोखरा । ब्यास नगरपालिकाको बुल्दी खोलामा बसेको पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार पक्राउ परे ।

मंगलबारदेखि गृह जिल्लामा रहेका पौडेलले व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनेको पक्की पुल उद्घाटन गरेका थिए । तर ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न नपाउँदै विरोधको सामना गर्नुपर्‍यो ।

संघीय सरकारको बजेटमा बनेको पुल कसले उद्घाटन गर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी कांग्रेसबचि विवाद भएपछि स्थानीय प्रशासनले झडप हुने सम्भावना देखिएको भन्दै निषेधाज्ञा नै गर्‍यो । तर निषेधाज्ञालाई खारेज गर्छु भन्दै र्‍यालीसहित पुल उद्घाटन गर्न हिँडेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर साँझ साढे ५ बजे छाडेको छ ।

प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको छ । झडपका क्रममा नेता रामचन्द्र पोखरेल, कांग्रेस तनहुँका सचिव लक्ष्मी आचार्यलगायत केही सामान्य घाइते भएका छन् ।

नेताहरुमाथि भएको धरपकडको विरोधमा तरुण दलका कार्यकर्ताले जिप्रका अगाडि प्रदर्शन पनि गरे ।

प्रहरी नियन्त्रणमा रहेका वरिष्ठ नेता पौडेलले भने आफूलाई सुनियोजित ढंगले नै पक्राउ गरिएको बताएका छन् । र, देशैभरि त्यसको प्रतिकार हुने पौडेलले बताएका छन् । प्रस्तुत छ, पौडेलसँग अमृत सुवेदीले गरेको संक्षिप्त कुराकानी :

स्थानीय प्रशासनले विवाद भयो, पुल उद्घाटनमा नजानुस् भन्दाभन्दै किन जानुभएको ?

हामीले नै बनाएको पुल उपभोक्ता समिति थियो । हाम्रै सरकारका पालादेखि बजेट परेको हो । उपभोक्ता समिति र नगरपालिकाले प्रमुख अथितिका रुपमा पुल उद्घाटन गर्न बोलायो । उनीहरुले सर्वसम्मतिमै नै मलाई बोलाएका हुन् ।

तर हामीले काम गरेको केपी ओलीको सरकारलाई मन परेन र तस्करले प्रशासनलाई हातमा लिएर निषेधाज्ञा गर्‍यो । अधिवायवाद, फाँसीजमतिर यो सरकार अगाडि बढ्यो ।

तर, प्रशासनले त कोरोनाको जोखिमका बेला तपाईले संयौं जनामा जुलुस निकालेर निषेधाज्ञा तोड्ने भयो भनेको छ नि ?

कोरोनाको जोखिमबारे हामी जानकार छौं । सामाजिक दुरी कायम गरेर पुल उद्घाटन गर्ने योजनामा थियौं । कोरोनाको जोखिम नहोस् भनेर सबै प्रबन्ध मिलाएका थियौं । सरकारले त्यसमाथि अवरोध गर्‍यो ।

यो ममाथि फासिस्ट आक्रमण भयो । यो फासिस्ट शैलीको प्रतिरोध गर्छौं । अवैधानिक र कानुन विपरीतका आदेश सहेर बस्न सकिँदैन । देशैभरि प्रतिकार हुन्छ । हामीले सरकार अधिनायकवादमा जान्छ भनेका थियौं, त्यतातिर जान थाल्यो । अब यसविरुद्ध लड्छौं ।

विवाद हुँदाहुँदै पुल उद्घाटन गरेर तपाईले जस लिन हतार गर्नुभयो भन्छन् नि ?

केही तस्करहरुको हातबाट बाँधियो यहाँको प्रशासन । मैले हिजो नै सीडीओलाई पुल उद्घाटनमा जाउँ पनि भनेको थिएँ । बेलुकाबाट त तपाईंले पुल उद्घाटन गर्न पाउनुहुन्न भन्न थाले । हिजोदेखि नै पुलिस राखेर जनता तर्साउने काम भयो । राणा शासनको पालाजस्तो पुलिसले जनता तर्साउने काम गर्‍यो ।

जनताले बोलाएपछि जानुपर्‍यो । त्यहाँको उपभोक्ता समितिले आउनुस् भन्यो । म जनताकै काममा गएको थिएँ । हामी राम्रो काम गरेको यो सरकारले देख्न सकेन । प्रहरी लगाएर टियर ग्यास हान्यो । जुन व्यवहार मसँग गर्‍यो, त्यो अधिनायकवाद हो ।

सरकारले सुनियोजित ढंगले नै पक्राउ गर्‍यो भन्ने हो तपाईंको दाबी हो ?

केपी ओली सरकारले सुनियोजित ढंगले नै मलाई पक्राउ गरेको हो । यो सरकार फासिजमतिर जान लागेकै हो । केपी ओली कहिल्यै पनि बहुदलका लागि लडेको मान्छे होइन । बीपीको आन्दोलनलाई पनि ओलीले सहयोग गरेको होइन ।

यो परिवर्तनमा केपी ओलीको कुनै हात छैन । तस्करहरुलाई बोकेर पैसाका बलमा केपी ओली नेतृत्वले बहुमत ल्यायो । अहिले यिनैका इसारामा यो काम भइरहेको छ । यो लोकतन्त्रमाथि प्रहार हो, यसको प्रतिवाद देशैभरि हुन्छ ।

तपाईको प्रतिक्रिया