“म रकेटको, स्पीडमा छु, कर्मचारी, थोत्रा ट्वीनटर, जस्ता छन्” : मन्त्री प्रेम आले”
2021, December 1st, Wednesday

हाम्रोखबर संवाददाता

“काठमाडौं “संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन् । बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको बताएका हुन् ।”

“पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउण्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले कर्मचारी संयन्त्रले पूर्ण सहयोग नगरेको गुनासो गरेका हुन् । आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्रगतिमा काम गरिरहेको भएपनि कर्मचारी संयन्त्रको गति सुस्त भएको गुनासो गरेका हुन् ।”

“पर्यटन क्षेत्र पनि भ्रष्टाचार र अनियमितताको दलदलमा फस्दै गएको भन्दै पर्यटन प्रवर्द्धन र विकासका लागि राम्रोसँग काम गर्न नसकिएको उनले बताए । पदमार्ग निर्माणका लागि पनि एउटै ठेकेदार कम्पनीले मात्रै पाउने गरी कर्मचारी संयन्त्रले ठेक्का मिलाउने गरेको भन्दै प्रतिस्पर्धा हुन नपाउँदा त्यहाँ पनि भ्रष्टाचार भएको उनले गुनासो गरे ।”

“मन्त्री आलेले भने, ‘हामी पर्यटन विकासका कुरा गर्छौँ । ट्रेकिङ रुट राम्रो बनाउने भन्दै ढुङ्गा विछ्याउन बजेट आउँछ । १५ करोडको ठेक्का आउँछ । तर त्यो ठेक्का पाउन पहिले ढुङ्गा बिछ्याएकै हुनुपर्ने भन्ने क्राइटएरिया राखिन्छ । अनि अघिल्लो वर्ष जसले पाएको हो,त्यो मात्रै योग्य हुन्छ र बिना प्रतिष्पर्धा एक्लै उसले ठेक्का पाउने हुन्छ ।”

“यसो गर्दा यदि प्रतिष्पर्धा भएमा ७–८ करोडमा सकिने काम पूरै १५ करोड लाग्ने हुन्छ । यसो हुँदा राज्यलाई घाटा हुन्छ । म कर्मचारीलाई त्यसो नगर्न र योग्य सबै ठेकेदारले पाउने गरी क्राइटएरिया बनाउन भन्छु,तर मेरा कर्मचारी साथीहरु यो वा त्यो भन्छन् । म रकेटको स्पीडमा काम गर्न खोज्दैछु,मेरा कर्मचारी साथीहरु थोत्रा ट्वीनटरजस्ता छन् । अनि अलि बढी स्पिड बढाउँ न त भन्यो भने यो मन्त्रीले दुःख दियो,काम गर्न नसक्ने भयो भन्छन् ।”

“नेपाल पर्वतारोहण संघले ६ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्दा त्यसको राजश्व सरकारले लिने गरेको भन्दै उक्त रकमको १० प्रतिशत मजदुरका लागि कल्याणकारी कोष बनाएर राख्न र आवश्यक पर्दा दिन आग्रह गरेका थिए । सो को जवाफमा मन्त्री आलेले राजश्वको १० प्रतिशत मजदुरका लागि छुट्याउन कुनै समस्या नभएको भन्दै त्यसका लागि पहल गर्ने र पहिलेका मन्त्रीले किन गर्न खोजेनन् भन्ने कुरा उनीहरुकै समस्या भएको पनि बताए ।”

“साथै पर्यटन क्षेत्र लयमा फर्किन अझै समय लाग्ने भएकाले पर्यटन क्षेत्र र पर्यटन मजदुरका आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि मन्त्री आलेले बताए ।”

तपाईको प्रतिक्रिया