“भिजिट भिसामा, दुबई, पुगेका ७ नेपाली, युवा अलपत्र”
2021, November 24th, Wednesday

हाम्रो खबर संबाद दाता

“दोहा । वैदेशिक रोजगारीका लागि दुई महिना अघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् । सेप्टेम्बर १९ तारिखमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् ।”

“सिराहाका एकै गाउँका नरेश कुमार यादव, नबिन कुमार यादव, निरज कुमार यादव, मुकेश प्रसाद यादव, कासिन्दर कुमार शाह र छोटु यादव रहेका छन् भने धनुषाका रन्जन कुमार शाह अलपत्र परेका छन् ।”

“उनीहरू सिराहाका एजेन्ट रबिरन्जन कुमार गुरमेहेताले दुवइको एडिमन रक कम्पनीमा मासिक तलब १३ सय दिराम हुने भन्दै पर्यटक (टुरिस्ट) भिसामा दुवइ पठाएको अलपत्र मध्यका नरेश कुमार यादवले जानकारी दिए ।”

“उनीहरूलाई दुबई पुग्ने बित्तिकै त्यहाँको स्थानीय एजेन्ट दुर्गा राईले विमानस्थलमा भेट गरेको र उनीहरू सातै जनासँग प्रतिव्यक्ति पाँच सय डलर लिएर अर्का एजेन्ट चित्र नाम गरेको व्यक्तिलाई जिम्मा लगाएको तथा उनले पनि उनीहरुबाट पाँच सय डलर लिएर एउटा कोठामा रहेको नरेशले बताए ।”

“एजेन्ट गुरमेहेताले सरसफाईमा काम लगाइदिने आश्वासन दिएर प्रतिव्यक्ति दुई लाख ३५ हजार रुपैयाँ लिएर पर्यटक (टुरिस्ट) भिसामा पठाएको उनीहरूले बताएका छन् । अहिले आफूहरू सातै जनालाई एउटै कोठामा राखेको खाना समेत पर्याप्त नदिएको र कोठामा पनि बेड नभएकोले भुईँमा सुत्नु परेको उनीहरूले बताएका छन् ।”

“नेपालमा बाबुआमालाई एजेन्टको घरमा पठाउँदा उल्टै धम्क्याउने गरेको उनीहरूको गुनासो छ । उनीहरूले आफूहरूलाई पठाउने एजेन्टलाई कारबाही र आफूहरूको सकुशल उद्धार गरिदिन वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।”

तपाईको प्रतिक्रिया